जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बुलन्द हुनु आवश्यक : राष्ट्रपति पौडेल

फाइल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याउने नेपालजस्ता मुलुकहरू प्रभावित भइरहेको भन्दै जलवायु न्यायको मुद्दा सबै अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाइनु आवश्यक भएको बताएका छन्।

नेपाल भौगर्भिक समाजद्वारा आयोजित नेपाल भौगर्भिक सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपतिले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्ने र प्राकृतिक प्रकोपको व्यवस्थापन जस्ता विषयहरू आजको समयका अत्यन्त संवेदनशील र प्राथमिकताका मुद्दा भएको बताए।

राष्ट्रपति पौडेलले विश्वका विकसित राष्ट्रहरूमा भएको अत्यधिक औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग र कार्बन उत्सर्जनका कारण जलवायु संकट गहिरिँदै गएको उल्लेख गर्दै यसबाट नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू बढी प्रभावित भएको स्पष्ट पारे।

उनले पृथ्वीको तापक्रममा भइरहेको वृद्धि र पछिल्ला तीन दशकमा हिमालय क्षेत्रका हिमनदीहरूमा एकतिहाइ हिउँको ह्रास भएको तथ्य प्रस्तुत गर्दै, यसको असरस्वरूप हिमताल फुट्ने जोखिम बढेको बताए। साथै, उनले अतिवृष्टि, पहिरो र भूक्षयबाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेकाले यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।

राष्ट्रपतिले भूकम्पजस्ता प्राकृतिक प्रकोपहरू विकासका कार्यहरूमा प्रमुख चुनौती बनेको उल्लेख गर्दै यस्ता विपद् पूर्वानुमान गर्न वैज्ञानिक प्रणाली विकास भइसके पनि भूकम्प पूर्वानुमान गर्ने प्रविधि अझै अज्ञात रहेको बताए। उनले २०७२ सालको विनाशकारी भूकम्पको एक दशक पूरा हुन लागेको बेला सम्मेलनमा त्यसबारे समीक्षात्मक छलफल हुनु सकारात्मक भएको धारणा राखे।

राष्ट्रपति पौडेलले सम्मेलनमा खानी तथा खनिज स्रोतहरूको अन्वेषण, जलवायु परिवर्तनका प्रभाव, भू–विपद व्यवस्थापन, र भौतिक पूर्वाधार विकासमा भू–विज्ञानको उपयोग जस्ता महत्त्वपूर्ण विषयमा गहिरो छलफल हुने विश्वास व्यक्त गरे।

उनले प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन र निजी क्षेत्रको लगानी आकर्षणमा सम्मेलनले सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया