मन्त्रीको विदेश भ्रमणमा कडाई

सरकारले एउटै मन्त्रालयका मन्त्री र सचिवलाई एकैपटक विदेश भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको छ। यो निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकमा गरिएको हो।

मन्त्री र सचिव दुवै एकैपटक विदेश गएका खण्डमा मन्त्रालयका कामकाज प्रभावित हुन सक्ने हुँदा यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

यससँगै, मन्त्रीको विदेश भ्रमणमा कडाई गरिएको छ। अब मन्त्रीलाई केवल अत्यावश्यक भ्रमणका लागि मात्र पठाइने र सामान्य कार्यक्रमहरूका लागि मन्त्रीको विदेश भ्रमण स्वीकृत नगर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। “मन्त्रीहरूको अत्यावश्यक विदेश भ्रमण मात्र अब स्वीकृत हुनेछ,” सरकारका प्रवक्ता गुरुङले भने।

पछिल्लो समय हरेक मन्त्रीपरिषद् बैठकले मन्त्रीहरूको विदेश भ्रमणलाई स्वीकृति दिइरहेको थियो।

साथै, राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण दल २१ सदस्यभन्दा ठूलो नबनाउने निर्णय पनि गरिएको छ।

तपाईको प्रतिक्रिया