सडक अतिक्रमण गरेर बनाइएका घरहरू डोजर लगाएर भत्काइए

सुनसरी। सुनसरीको धरान र विराटनगरको रानीसम्मको ६ लेन सडक विस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू आजदेखि डोजर लगाएर भत्काउन थालिएको छ।

दुहबी नगरपालिकाले ६ लेन सडक विस्तार गर्नका लागि प्रहरी परिचालन गरेर बजार क्षेत्रका घरहरू भत्काउन सुरु गरेको हो।

धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य स्थानमा अन्तिम चरणमा पुगेको छ, तर दुहबीमा स्थानीय बासिन्दाले घर खाली नगरेको कारण सडक विस्तारमा अवरोध भएको थियो, जसको कारण डोजर लगाएर घर भत्काउन परेको दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले जानकारी दिनु भएको छ।

मेयर गच्छदारले दुहबी नगरपालिकाको अनुरोधमा दुहबी बजार क्षेत्रमा घर खाली गर्न पर्याप्त नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताउनुभयो।

६ लेन सडक खाली गर्न दुहबी नगरपालिकाले सुरक्षा माग गरेपछि दुहबी बजारमा प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए।

धरान-रानी ६ लेन सडक विस्तार गर्दा यातायातका साधन सञ्चालनमा सहज हुने धारणा धरानका यातायात व्यवसायी सरोज श्रेष्ठको छ।

तपाईको प्रतिक्रिया