निजामती कर्मचारीको उमेर सीमा ६० वर्ष पुर्‍याउने तयारी

काठमाडौँ। सरकार निजामती कर्मचारीहरूको उमेर सीमा बढाउने तयारीमा छ। प्रतिनिधि सभाको राज्य व्यवस्था र सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक, २०८० माथि भइरहेको छलफलमा निजामती कर्मचारीको उमेर सीमा बढाउने विषयमा सकारात्मक चर्चा भइरहेको छ।

समितिले विधेयकमाथि सांसदहरूले दिएका संशोधन प्रस्तावहरूको अध्ययन गर्दै, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा बनाइएको समितिमा उमेर सीमा बढाउने बारेमा भइरहेको छलफल अघि बढिरहेको छ।

उपसमितिका सदस्य राप्रपाका सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीको उमेर सीमा बढाउने विषयमा भइरहेको छलफलको बारेमा जानकारी दिँदै भने, “छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ र उमेर सीमा ६० वर्ष पुर्‍याउने विषयमा छलफल भइरहेको छ।”

उमेर सीमा बढाउनुपर्ने कारण के हो भन्ने प्रश्नमा सांसद तामाङले भने, “२०४८ सालमा बनाइएको निजामती सेवा ऐन अनुसार नेपालका औसत आयु ६२ वर्ष थियो, त्यस समय उमेर सीमा ५८ वर्ष राखिएको थियो। हालको जनगणना अनुसार औसत आयु ७२ वर्ष पुगेको छ, त्यसैले उमेर सीमा ६० वर्ष राख्न कानूनी व्यवस्था गर्न लागेको हो।”

५८ वर्षमा अवकाश हुने कर्मचारीहरूको अनुभवको महत्व र नयाँ कर्मचारीहरूको ज्ञानको कमीको विषयमा पनि सांसदहरूबीच अनौपचारिक सहमति जुटिसकेको अर्को सांसदले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया