नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, कार्यालय घेराउ

काठमाडौं। कांग्रेससँग निकटता राख्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का कानुनी पेशामा संलग्न सदस्यहरूले नेपाल बार एसोसिएसनको निर्वाचन समितिको कार्यालय घेराउ गरेका छन्। आउँदो चैत २३ गते हुने नेपाल बार केन्द्रीय कार्यसमिति निर्वाचनको मतदाता नामावलीमा केही विवाद उठेपछि उनीहरूले उक्त कार्यालय घेराउ गरेका हुन्।

उच्च अदालत बार एसोसिएसनले काठमाडौं जिल्ला अदालत बारका ७११ मतदाताको नाम हटाउनुपर्ने माग गर्दै उजुरी दिएको थियो। यसैको प्रतिक्रिया स्वरूप, मंगलबार (फागुन २०) डीएलएका कानुन व्यवसायीहरूले नेपाल बारको निर्वाचन समितिको कार्यालय घेराउ गरेका छन्।

निर्वाचनको लागि प्रारम्भिक नामावलीमा ११,७७२ जनाको नाम सार्वजनिक गरिएको थियो। यसमा सोमबारसम्म दाबी र विरोध गर्ने समय तय गरिएको थियो। उच्च अदालत बारले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेको थियो। यसपछि, काठमाडौं बारले पनि सबै सदस्यहरूको छानबिन गर्न माग गर्दै उजुरी दिएको थियो।

डीएलएका अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिलको अद्यावधिक नगरी निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौं बारको मात्र छानबिन गर्न थालेको कारण उनीहरूले विरोध जनाएका थिए। उनले भने, “नेपाल बारको मतदाता नामावलीमा केन्द्रीय कार्यसमितिले अनुमोदन गरी निर्वाचन समितिलाई पठाएको नामावलीमा केही सदस्यहरूको उजुरी पछि चुनाव आयोगले मात्रै काठमाडौं जिल्ला बारको हकमा मात्र निर्णय गर्न खोज्दा हामी विरोधमा उत्रिएका हौं।”

नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली स्थायी बनाउनु पर्ने आन्दोलनकारीहरूको माग रहेको छ। निर्वाचन समितिको निर्णय एकपक्षीय भएको भन्दै डीएलएले यसलाई बदर गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया