अन्तर्राष्ट्रिय खेल खेल्न नपाएका क्रिकेट खेलाडीहरूको र्‍याङ्किङ बिग्रियो, को कति स्थानमा?

नेपाली क्रिकेट खेलाडीहरूको एक दिवसीय र्‍याङ्किङ घटेको छ, किनभने उनीहरूले गत मंसिरदेखि कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

आइसीसीको ताजा र्‍याङ्किङमा कुशल भुर्तेल बाहेक अधिकांश खेलाडीहरूको र्‍याङ्किङ तल झरेको छ। ओपनर आसिफ शेख २ स्थान तल झरेर ८३ नम्बरमा पुगेका छन्। कुशल भुर्तेल १ स्थान उक्लिएर ८७ मा पुगेका छन्। कप्तान रोहित पौडेल भने ८९ स्थानमा कायम छन्।

बलिङतर्फ सन्दीप लामिछाने ३ स्थान घटेर ४६ मा, ललित राजबंशी ३ स्थान घटेर ५० मा, दीपेन्द्र सिंह ऐरी ५ स्थान घटेर ६५ मा, सोमपाल कामी १ स्थान घटेर ७५ मा, र करण केसी २ स्थान घटेर ७९ मा पुगेका छन्।

अर्कोतर्फ, अफगानिस्तानका राशिद खानलाई पछाडि पार्दै श्रीलंकाका महीश थिकसाना बलिङतर्फ नम्बर १ स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजमलाई उछिनेर भारतका सुभमन गिल पहिलो स्थानमा पुगेका छन्।

नेपाल एक दिवसीय र्‍याङ्किङमा १८औं स्थानमा कायम छ। आयरल्यान्डलाई उछिनेर जिम्बावे ११ स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया