ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ


धरान : सुनसरीको इनरुवा क्षेत्रमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूको पहिचान भारतको बिहार राज्यको अररिया जिल्लाका ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवानको रुपमा भएको छ।

भारतको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आइपुगेका उनीहरूलाई स्थानीय प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरका संयुक्त टोलीले इनरुवा नगरपालिका स्थित नुतन पेट्रोल पम्पको नजिकबाट पक्राउ गरेको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

प्रहरीको अनुसन्धानका क्रममा कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट १०९ ग्राम ब्राउन सुगर एक प्लास्टिक पोकामा लुकाएर राखेको पाइएको थियो। यस घटनामा कानुनी प्रक्रिया अनुसार आवश्यक कार्यवाही भइरहेको एसपी तिम्सिनाले बताए।

तपाईको प्रतिक्रिया