पुर्पक्षका लागि छविलाल जोशीलाई कारागार चलान

बुटवल — बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सोही मुद्दामा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने अदालतले १ करोड धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो।

सोमबार अदालतमा उपस्थित भएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले भने, “प्रतिवादीले जानीजानी अपराध नगरेको आधार नदेखिँदा उनलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिइएको छ, थप प्रमाण आएपछि थप प्रक्रिया अघि बढ्नेछ।” यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ५० लाख धरौटीमा रिहा भएका थिए। उनलाई चितवनको साहारा सहकारी ठगी मुद्दामा पनि मुद्दा दर्ता गरिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतले लामिछानेले अपराध नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको भन्दै उनलाई धरौटीमा छोड्ने निर्णय गरेको हो।

सुप्रिम सहकारी ठगीमा लामिछाने र जोशीलाई समावेश गरी २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेको थियो। यस प्रकरणमा अन्य प्रतिवादीहरू फरार छन्। पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ, जसमा जोशीका नाममा व्यक्तिगत रूपमा २ करोड ५० लाख र सामूहिक दायित्वअन्तर्गत १० करोड ९९ लाख ऋण लिएको देखिएको छ। यस अघि वैशाख महिनामा गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीको मुद्दा दर्ता गरिएको थियो, जसमा १७ जनाविरुद्ध थप अभियोगसहितको मुद्दा दर्ता गरिएको छ।

तपाईको प्रतिक्रिया