कञ्चनपुरमा निर्माण कम्पनीको गोदाममा आगलागी, ठूलो क्षति

कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा स्थित भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगलागी भएको छ। आगो गएराति विद्युत् सर्ट भई लागेको थियो, जसबाट विभिन्न निर्माण सामग्री नष्ट भएको छ।

कञ्चनपुर प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबलसिल, इन्जिन आयल, डिजेल, पेट्रोल, टायर, हाइड्रोलिक लगायतका सामग्री नष्ट भएको छ, र यसबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

गोदाम नजिकै रहेका स्टाफ क्वाटरबाट एक जना कर्मचारीले आगो लागेको थाहा पाएका थिए। कम्पनीका सञ्चालक हर्क मल्लका अनुसार, आगोको कारणले नियमित काममा पनि असर परेको छ।

कम्पनीका कर्मचारी, स्थानीय तथा दमकल टोलीहरूले आगो निभाएका छन्। बेदकोट नगरपालिकाका फायरमेन विनोद रैकालको टोलीले बिहान बाँकी रहेको आगो बुझाएका छन्।

तपाईको प्रतिक्रिया