पहिचान हुन नसकेका ९६ शव देवघाटमा व्यवस्थापन गरियो

चितवन । बाढी तथा विपद्का क्रममा चितवनमा ल्याइएका र हालसम्म पहिचान हुन नसकेका ९६ वटा शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार ती शव शनिबार देवघाट क्षेत्रको जंगलमा गाडिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार साँझसम्म ९६ शवको व्यवस्थापन सम्पन्न भएको छ। बाँकी शव व्यवस्थापनको काम आइतबार पनि जारी रहने चितवनका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए।

चितवनमा शनिबारसम्म विभिन्न स्थानबाट २५९ जनाको शव फेला परेको प्रशासनले जनाएको छ। तीमध्ये नौ जनाको शव आफन्तले पहिचान गरी बुझिसकेका छन् भने अन्य शवको पहिचान हुन बाँकी रहेको छ।

शव संरक्षणका लागि पर्याप्त चिस्यान केन्द्रको व्यवस्था नभएका कारण लामो समयसम्म राख्दा शव सड्ने र त्यसबाट स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रशासनले शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार भविष्यमा आवश्यक परे शवको पहिचान गर्न सहज हुने गरी निर्धारित मापदण्डअनुसार व्यवस्थापन गरिएको छ। शव गाड्नुअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरिएको थियो।

पहिचान प्रक्रियालाई सहज बनाउन प्रत्येक शवमा नष्ट नहुने किसिमको संकेत नम्बरसमेत राखिएको छ। गाडिएका शवको विवरण र संकेत नम्बर सुरक्षित राखिएको तथा आफन्तको डीएनए परीक्षणसँग मिलान भएपछि सोही संकेतका आधारमा पहिचान गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया