केरुङमा हिमपहिरोपछि बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रअन्तर्गत तिब्बतको केरुङमा हिमपहिरोका कारण बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा बाहिरिएको छ। पानीको निकाससँगै सो क्षेत्रको अवस्था सामान्यतर्फ फर्किएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।

चीनको जलस्रोत मन्त्रालय तथा चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार, नेपालतर्फको छोछेन खोला र चीनतर्फ बग्ने पुरेपु साङ्पो नदीको संगम आसपास हिमपहिरोका कारण पानी थुनिएपछि उक्त कृत्रिम ताल बनेको थियो।

तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको थियो। चीनको जलस्रोत मन्त्रालयअन्तर्गतको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीले गरेको निरीक्षणअनुसार थुनिएको पानी प्राकृतिक रूपमा बाहिरिएपछि जलभण्डार पूर्ण रूपमा खाली भएको हो।

यस घटनासँगै सम्भावित जोखिमको अवस्थाबारे चिनियाँ अधिकारीहरूले निरन्तर अनुगमन गरिरहेका छन्।

यसैबीच, तिब्बतको आपत्कालीन व्यवस्थापन विभागले शनिबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केरुङ नाका आसपासको घटनामा १६ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।

उक्त घटनापछि अझै ५४६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिकसमेत रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया