लहान–२१ मा सरसफाइ अभियान : स्वच्छता र्‍यालीदेखि सडक नाटकसम्म, ‘स्वच्छता व्यवहारमै उतारौँ’ भन्ने सन्देश

सिरहा — लहान नगरपालिका–२१ का मधोपुर र कालाबन्जरका टोलमा आइतबार सरसफाइको अभियान लिएर स्थानीय तह र समुदाय एकसाथ सडकमा उत्रिए। स्वच्छता र्‍याली निकालियो, सडक नाटक देखाइयो र सार्वजनिक स्थलमा सरसफाइ गरियो। उद्देश्य एउटै थियो—सुरक्षित शौचालयको प्रयोग र फोहोर व्यवस्थापनलाई केवल जनचेतनाको विषय नभई दैनिक व्यवहारको हिस्सा बनाउनु।

लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा वडा नं. २१ का विभिन्न टोलका स्थानीय बासिन्दा, जनप्रतिनिधि, महिला स्वास्थ्यकर्मी, नगरपालिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।

‘सरसफाइ तथा शौचालय निर्माण अभियान सफल पारौँ’ भन्ने सन्देशसहित निकालिएको र्‍यालीले टोलका विभिन्न भाग परिक्रमा गरेको थियो। सहभागीहरूले सुरक्षित शौचालय प्रयोग गर्न, घर तथा वरपरको वातावरण सफा राख्न र सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न स्थानीयलाई आग्रह गरेका थिए।

र्‍यालीपछि सहभागीहरू सडक तथा सार्वजनिक स्थलको सरसफाइमा समेत जुटे। कार्यक्रमका क्रममा फोहोर उठाउने कामसँगै घरबाट निस्कने फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्न र आफ्नो टोल सफा राख्न स्थानीयलाई आग्रह गरिएको थियो।

कार्यक्रममा प्रस्तुत सडक नाटकले सरसफाइका सन्देशलाई अझै प्रत्यक्ष ढंगले समुदायसम्म पुर्‍याएको थियो। सुरक्षित शौचालय प्रयोग नगर्दा, व्यक्तिगत स्वच्छतामा ध्यान नदिँदा र फोहोर जथाभावी फाल्दा स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असरलाई नाटकमार्फत देखाइएको थियो।

सरसफाइका विषयमा औपचारिक भाषणभन्दा स्थानीयले प्रत्यक्ष हेरेर बुझ्न सक्ने माध्यम प्रभावकारी हुने भएकाले सडक नाटकलाई पनि कार्यक्रमको हिस्सा बनाइएको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागीहरूले सरसफाइलाई अभियान चलेका बेला मात्र गरिने कामका रूपमा लिन नहुने बताएका थिए। घर सफा राख्ने, सुरक्षित शौचालय प्रयोग गर्ने, फोहोर उचित ठाउँमा व्यवस्थापन गर्ने र सार्वजनिक स्थलमा फोहोर नफाल्ने बानी नियमित जीवनको हिस्सा बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

सुरक्षित शौचालय निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसको नियमित प्रयोग, सरसफाइ र संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइएको थियो। घरबाट सुरु हुने स्वच्छताको अभ्यास टोल हुँदै समग्र नगरको वातावरणसँग जोडिने भएकाले प्रत्येक परिवारको भूमिका महत्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो।

वडा नं. २१ का वडा अध्यक्ष राजकुमार यादवको नेतृत्व तथा WASH Unit को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा महिला स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, नगरपालिका पदाधिकारी र अन्य सरोकारवालाको सहभागिता थियो।

अध्यक्ष यादवले सरसफाइप्रति समुदायको सोच र व्यवहार परिवर्तन गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए। स्वच्छता अभियानलाई प्रभावकारी बनाउन नागरिकको निरन्तर सहभागिता आवश्यक रहेको उनको भनाइ छ।

‘यादवले प्रत्येक घर र नागरिकको दैनिक व्यवहारमा सरसफाइको अभ्यास विकास हुनुपर्ने बताए। उनका अनुसार स्थानीय सरकारले अभियान चलाउने र नागरिकले त्यसलाई व्यवहारमा उतार्ने हो भने मात्र दीर्घकालीन परिणाम हासिल गर्न सकिन्छ।

लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका २४ वटै वडामा सरसफाइ तथा स्वच्छतासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत स्वच्छता, फोहोर व्यवस्थापन र वातावरण संरक्षणबारे नागरिकलाई सचेत गराउने अभियानको उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले समुदाय, जनप्रतिनिधि, सामाजिक संस्था तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा अभियानलाई निरन्तरता दिने जनाएको छ।

मोधापुर र कलाबञ्जरमा भएको कार्यक्रमको सन्देश पनि यही थियो—स्वच्छता एक दिनको अभियानले होइन, प्रत्येक घरबाट सुरु हुने नियमित व्यवहारले कायम हुन्छ।

तपाईको प्रतिक्रिया