रास्वपा सांसद प्रसाईंले उठाए ग्यास आपूर्ति अवस्थाबारे प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर देखिएको ग्यास आपूर्ति अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद प्रसाईंले सर्वसाधारणले ग्यास खरिदका क्रममा भोग्नुपरेका कठिनाइबारे चर्चा गर्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा ग्यास आपूर्तिको अवस्था कस्तो रहेको छ भन्ने प्रश्न उठाए।

उनले रास्वपाले सरकारमा हुँदा सरकारी सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाएको स्मरण गर्दै सार्वजनिक सेवा र अत्यावश्यक वस्तुको उपलब्धतामा प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए।

सांसद प्रसाईंले ग्यास अभावको कारणबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरे। साथै, यदि आपूर्ति व्यवस्थापनमा कुनै अनियमितता भएको प्रमाण भेटिएमा सम्बन्धित निकायले कानुनअनुसार छानबिन र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

उनले प्रतिनिधिसभा बैठकमार्फत ग्यास आपूर्ति र वितरण प्रणालीबारे सरकारको जवाफ माग गरेका हुन्।

तपाईको प्रतिक्रिया