पाँच लाख रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत पक्राउ

सिरहा । आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पाँच लाख रुपैयाँ नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुस रकमसहित पक्राउ गरिएको पुष्टि गरेका छन्।

प्रारम्भिक जानकारीअनुसार एक सुपरमार्केट कम्पनीको आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण (फुल अडिट) का क्रममा अनुकूल प्रतिवेदन तयार गरिदिने भन्दै पालले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। आरोपअनुसार अडिट प्रक्रिया अघि बढाउनुअघि कम्पनीबाट आवश्यक कागजातसमेत मागिएको थियो।

अख्तियारको टोलीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरिरहेको छ। आयोगले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया