मनसुनजन्य विपद् न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको प्राधिकरणको भनाइ

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम कम गर्न सम्बन्धित सबै निकायसँग समन्वयात्मक कार्यलाई तीव्र बनाएको जनाएको छ।

आइतबार बसेको प्राधिकरणको बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि गरिएका तयारी, सरोकारवाला निकायले अघि बढाएका काम तथा तिनको प्रगति समीक्षा गरेको छ। बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित विवरण अद्यावधिक गर्ने विषयमा पनि छलफल भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुनका कारण हुन सक्ने जनधनको क्षति न्यून गर्न सरकार आवश्यक तयारीसहित सक्रिय रहेको बताएका छन्।

उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। आइतबारको बैठकमा ती निर्देशनहरूको कार्यान्वयन अवस्था र प्रगतिबारे समीक्षा गरिएको हो।

देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने विशेष मौसम बुलेटिनलाई आधार बनाएर प्राधिकरणले आवश्यक सतर्कता सन्देश (एड्भाइजरी) जारी गर्दै आएको जनाएको छ। विभागको मौसम पूर्वानुमानका आधारमा आवश्यकताअनुसार आगामी दिनमा पनि यस्ता सूचना तथा सुझाव निरन्तर जारी गरिने प्राधिकरणले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया