सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह

चितवन — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार पर्यटकीय नगरी सौराहाको भ्रमण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री शाह परिवारसहित सौराहा पुगेका हुन्।

सौराहामा उनले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरे। सो क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री शाहले सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु र जैविक विविधताप्रति चासो व्यक्त गर्दै यहाँको प्रकृति सुन्दर र संरक्षणयोग्य रहेको बताएका थिए।

स्थानीय पर्यटन व्यवसायीका अनुसार उनले सौराहाको पर्यटन विकास र संरक्षणसँग जोडिएका सम्भावनाबारे समेत चासो राखेका थिए। प्रधानमन्त्री शाहको भ्रमणले स्थानीय पर्यटन क्षेत्रमा उत्साह थपिएको व्यवसायीहरूको भनाइ छ।

प्रधानमन्त्री शाह चितवनको कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसेका छन्। उनको चितवन भ्रमणलाई राजनीतिक कार्यक्रमभन्दा बढी पारिवारिक तथा पर्यटकीय भ्रमणका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया