मोरङमा पिकअप गाडीबाट ९२२ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं । मोरङ जिल्लाबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले जिल्लाको जहदा गाउँपालिका–७ महादेवकोल क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा जाँचका क्रममा ९२२ किलोग्राम गाँजा फेला पारेको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग तथा बोर्डर आउट पोष्ट नोचाबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार लक्ष्मिनियाबाट तारीगामातर्फ गइरहेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जाँच गरिएको थियो।

जाँचका क्रममा धानको भुस राखिएको बोरामुनि लुकाइएका २९ वटा पोकामा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल ९२२ किलोग्राम रहेको बताइएको छ।

घटनासँग सम्बन्धित रहेको आशंकामा बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकलले पिकअप गाडीलाई साथ दिइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

यद्यपि, पिकअप गाडी र मोटरसाइकलका चालकहरू भने घटनास्थलबाट फरार रहेको जनाइएको छ। बरामद गाँजा, सवारीसाधन तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया