ललितपुरका सम्पदा जोखिममा, संरक्षणका लागि सरकारसँग तत्काल कदम चाल्न सांसद जगदीश खरेलको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले ललितपुर क्षेत्रमा बढ्दो सम्पदा चोरी, अतिक्रमण तथा ऐतिहासिक धरोहरमाथि देखिएको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सांस्कृतिक सम्पदाको प्रभावकारी संरक्षणका लागि सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ललितपुर–२ बाट निर्वाचित सांसद खरेलले आफूले प्रतिनिधित्व गर्ने क्षेत्र ऐतिहासिक सम्पदा, संस्कृति र सभ्यताले समृद्ध भए पनि पछिल्लो समय धार्मिक तथा सांस्कृतिक धरोहरहरू असुरक्षित बन्दै गएको बताएका हुन्।

उनले नेपाली समाजमा “भगवानले रक्षा गर्छन्” भन्ने विश्वास गहिरो रूपमा स्थापित भए पनि अहिले भने भगवानकै रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको टिप्पणी गरे।

खरेलले भने, “सम्पदा र सभ्यताको धनी नगरी ललितपुर–२ बाट प्रतिनिधित्व गर्छु। हामीले भगवानले रक्षा गर्छन् भन्ने विश्वास राख्छौं, तर अहिले मेरो नगरमा भगवानकै रक्षा गर्नुपर्ने अवस्था आएको छ। मूर्ति र हिती चोरी भइरहेका छन्, अतिक्रमण बढ्दो छ, कतिपय सम्पदा त उत्खनन गरेर जोगाउनुपर्ने अवस्थामा पुगेका छन्।”

सम्पदा अभियन्ता यादवलाल कायस्थको भनाइ उद्धृत गर्दै उनले अब सम्पदा संरक्षणलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

सांसद खरेलले विशेषगरी करिब १६ सय वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित संरचनाबाट भएको चोरीको विषय संसद्मा उठाउँदै सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार जात्राको रथमा प्रयोग हुने करिब ९ फिट लामो धोमाको दायाँ–बायाँ रहेको ऐतिहासिक हिती मंगल हराएको करिब एकदेखि डेढ महिना बितिसक्दा पनि खोजी कार्य प्रभावकारी हुन सकेको छैन।

हराइरहेका सम्पदाको तत्काल खोजी, संरक्षण प्रणाली सुदृढीकरण तथा सांस्कृतिक धरोहरको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले ठोस र शीघ्र कदम चाल्नुपर्ने माग उनले सरकारसमक्ष राखे।

तपाईको प्रतिक्रिया