कम्बोडियामा रहेका २११ नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं, वैशाख २५ । कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दूतावासले अवैध रूपमा कम्बोडियामा रहेका नेपालीहरूले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्क गरेको जनाएको छ ।

दूतावासद्वारा जारी सूचनाअनुसार कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी सङ्कलन गर्न अनलाइन फाराम भर्न आग्रह गरिएको थियो । हालसम्म उक्त फाराम २११ जनाले भरेका छन्, जसमा ९ जना महिला रहेका छन् ।

दूतावासका अनुसार सम्पर्कमा आएका नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्म कम्बोडिया पुगेका हुन् । त्यसमध्ये २७ जना नेपाली विभिन्न अभियोगमा कम्बोडियाका विभिन्न कारागारमा पुर्पक्षका लागि थुनामा रहेको जानकारी पनि दूतावासले दिएको छ । पुर्पक्षको प्रक्रियामा स्थानीय भाषा बुझ्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले जनाएको छ । साथै २५ जना नेपाली आजै नेपाल फर्किन लागेको जानकारीसमेत दिइएको छ ।

दूतावासले नेपाल फर्किने नेपालीलाई कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न आग्रह गरेको छ । कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट मुलुकको भिसा आवश्यक पर्न सक्ने र लगेज पुनः चेक–इन गर्नुपर्ने अवस्था आउने भएकाले यात्रा झन्झटिलो हुन सक्ने दूतावासको भनाइ छ ।

त्यसैगरी, नेपालीहरू कम्बोडिया जानका लागि विभिन्न व्यक्तिलाई २ लाखदेखि ८ लाख रुपैयाँसम्म बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया