अमेरिकासँग तनाव कम गर्न इरानको नयाँ प्रस्ताव, कूटनीतिक पहल जारी

काठमाडौं — इरानले अमेरिकासँग जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित नयाँ कूटनीतिक प्रस्ताव अघि सारेको छ। सो प्रस्तावबारे इरानले एसिया र युरोपका विभिन्न देशसँग सक्रिय रूपमा छलफल अगाडि बढाएको जनाएको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समकक्षीसँग संवाद गर्दै सम्भावित युद्धविराम र समाधानका उपायबारे विचार आदानप्रदान गरिरहेका छन्। यस क्रममा टर्किए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स र इटालीलगायत देशसँग परामर्श भएको जनाइएको छ।

नयाँ प्रस्ताव पाकिस्तानमार्फत अमेरिकासम्म पुर्‍याइएको र त्यसबारे अमेरिकी पक्षले अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। साथै, युरोपेली सङ्घका कूटनीतिक नेतृत्वसँग पनि इरानले परामर्श जारी राखेको बताइएको छ।

इरानले पछिल्लो समय अमेरिकी र इजरायली सैन्य गतिविधिका कारण फारसको खाडी र हर्मुज क्षेत्रमा तनाव बढेको दाबी गरेको छ। आफूले युद्ध सुरु नगरेको उल्लेख गर्दै इरानले अमेरिकाले कडा नीति र दबाबमूलक गतिविधि त्यागेमा वार्ता र कूटनीतिक समाधानका लागि तयार रहेको संकेत दिएको छ।

यसैबीच, इरानले आफ्नो सुरक्षा संयन्त्र कुनै पनि सम्भावित जोखिम सामना गर्न सक्षम रहेको बताएको छ। केही क्षेत्रीय देशहरूले तनाव घटाउन खेलेको सकारात्मक भूमिकाको पनि इरानले सराहना गरेको छ।

यसअघि दुबै पक्षबीच युद्धविराम घोषणा भए पनि त्यसपछि भएका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्। पछिल्लो प्रस्तावलाई सम्भावित समाधानतर्फको नयाँ प्रयासका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया