नौ महिनाको तथ्यांक: शीर्ष आयातित वस्तु र राजस्वको अवस्था

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल अग्रस्थानमा देखिएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढीको डिजेल विदेशबाट भित्रिएको छ।

विवरणअनुसार नौ महिनामा करिब १० लाख ३५ हजार किलोलिटर डिजेल आयात भएको छ। यसबाट सरकारले ४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उल्लेख छ।

त्यसपछि कच्चा सोयाविन तेल दोस्रो स्थानमा रहेको छ। करिब ५९ करोड लिटरभन्दा बढी सोयाविन तेल आयात हुँदा झण्डै ९६ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको छ। यस वस्तुबाट सरकारले चार अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको तथ्यांकमा उल्लेख छ।

तेस्रो स्थानमा पेट्रोल रहेको छ। करिब पाँच लाख ६८ हजार किलोलिटर पेट्रोल आयात हुँदा ५० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने यसबाट ३२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

यस्तै, स्पन्ज आइरन चौथो धेरै आयात हुने वस्तुका रूपमा देखिएको छ। करिब एक अर्ब केजी स्पन्ज आइरन आयात गर्दा ४२ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको छ। यसबाट सरकारले छ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ।

खाना पकाउने एलपी ग्यास पाँचौँ स्थानमा रहेको छ। उक्त अवधिमा ४१ करोड केजीभन्दा बढी एलपी ग्यास आयात हुँदा ४१ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको छ। यसबाट सरकारले सात अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ।

तपाईको प्रतिक्रिया