शुक्रबार भारी वर्षा र हावाहुरीको चेतावनी, मौसम पूर्वानुमान शाखाको सतर्क रहन आग्रह

काठमाडौं ।मौसम पूर्वानुमान शाखाले शुक्रबारका लागि देशका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी र चट्याङ्गको जोखिम रहने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

शाखाले जारी गरेको जानकारी अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण मेघगर्जन, चट्याङ्ग, असिनासहित वर्षा र हावाहुरी चल्ने सम्भावना देखिएको हो।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा शुक्रबार भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज राति ती प्रदेशका केही स्थानका साथै कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका सीमित क्षेत्रमा, साथै लुम्बिनी र बागमती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा पनि मध्यम खालको वर्षा वा हिमपात हुने सम्भावना रहेको जनाइएको छ।

शुक्रबार देशका अधिकांश स्थानमा आकाश बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै चट्याङ्ग र असिनाको सम्भावना रहेको छ। अन्य प्रदेशका केही स्थानमा पनि समान प्रकृतिको मौसम रहने अनुमान गरिएको छ।

त्यसैगरी, शनिबार पनि कोशी र बागमती प्रदेशका साथै देशका अन्य पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना मौसम पूर्वानुमान शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया