ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आभार तथा धन्यवाद कार्यक्रम सम्पन्न

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको हार्दिक आभार तथा धन्यवाद ज्ञापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम पार्टीका प्रतिनिधिहरू र क्षेत्रका नागरिकबीच प्रत्यक्ष संवादको माध्यम बनेको थियो।

कार्यक्रममा मुख्य अतिथि ललितपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेल क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई विशेष रूपमा सम्बोधन गर्दै, उनीहरूले दिएको समर्थन र विश्वासप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो। खरेलले मतदाताको विश्वास केवल सम्मानको विषय नभई आगामी दिनमा क्षेत्रको समग्र विकास र प्रगतिका लागि थप जिम्मेवारी थप्ने महत्वपूर्ण कारक भएको बताउनुभयो।

खरेलले आफ्ना सम्बोधनमा आगामी योजनाहरू र क्षेत्रको सामाजिक–आर्थिक विकासका प्राथमिकताहरू समेत प्रस्तुत गर्नुभयो। उहाँले जनताको आवाजलाई नीति निर्माणमा समावेश गर्ने प्रतिबद्धता दोहोर्याउँदै, नागरिक सहभागिता र पारदर्शी शासनको महत्वमा जोड दिनुभयो।

कार्यक्रममा उपस्थित नागरिकहरूले खरेलको प्रयास र नेतृत्वप्रति पूर्ण विश्वास प्रकट गर्दै, क्षेत्रको विकासका लागि पार्टीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा सहभागीहरूले मतदातासँग प्रत्यक्ष संवाद, प्रतिक्रिया सत्र, र सुझाव आदानप्रदानको माध्यमबाट पार्टी र जनता बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्राप्त भएको अनुभव व्यक्त गर्नु भयो।

तपाईको प्रतिक्रिया