जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार सामग्री बरामद

भैरहवा – रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख रुपैयाँ मूल्य बराबरको अवैध भन्सार सामग्री नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार, खटिएको टोलीले जिल्ला भित्र विभिन्न जाँचका क्रममा कुल ६ लाख २९ हजार रुपैयाँबराबरका सामग्री बरामद गरेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरू—पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको छ।

बरामद सामग्रीको विवरण यस प्रकार छ:

  • ओमसतिया गाउँपालिका–४, बसन्तपुर: करिब २० क्विन्टल काँचो केरा (मूल्य करिब १ लाख २४ हजार)
  • शुद्धोधन गाउँपालिका–३, पूर्व मैनहिया नयाँबस्ती: १८० जोडी लेडिज चप्पल (मूल्य २७ हजार)
  • मायादेवी गाउँपालिका–६, खल्बट: १४१ एल्बो सकेट, ८.५ लिटर मोबिल, कुरकुरे र सर्फ (मूल्य ७२ हजार ५००)
  • देवदह नगरपालिका–४, केरवानी: १३० केजी ब्रोइलर कुखुरा (मूल्य १ लाख २२ हजार)
  • रोहिणी गाउँपालिका–३, लखनौटिया: तेल, बिस्कुट, स्प्राइट, सलाइ लगायतका किराना सामग्री (मूल्य २२ हजार १००)
  • कोटहीमाई गाउँपालिका–३, प्रसियाघाट: बिस्कुट ५ कार्टुन, चिनी १ बोरा, मैदा २ बोरा (मूल्य १ लाख ११ हजार ६००)
  • सिद्धार्थनगर नगरपालिका–३, बुद्धकोलोनी: बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान, फलामको चेन ५ थान (मूल्य १ लाख ५० हजार)

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए, “बरामद गरिएका सामग्री सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।”

तपाईको प्रतिक्रिया