ट्रम्पको दाबी: सुरक्षा सुनिश्चित गर्न ग्रिनल्याण्डमा अमेरिका हस्तक्षेप आवश्यक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई लिएर पुनः कडा प्रतिक्रिया व्यक्त गरेका छन्। डेनमार्कले आवश्यक जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै ट्रम्पले अब अमेरिका नै अघि बढ्ने संकेत दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै ट्रम्पले नेटोले विगत दुई दशकदेखि डेनमार्कलाई ग्रिनल्याण्ड क्षेत्रबाट रूसी खतरा न्यूनीकरण गर्न आग्रह गर्दै आएको उल्लेख गरेका छन्। तर डेनमार्कले सो विषयमा ठोस कदम चाल्न नसकेको उनको टिप्पणी छ। उनले अब समय आएको र आवश्यक कारबाही गरिने दाबी गरेका छन्।

केही युरोपेली राष्ट्रहरूले ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने ट्रम्पको प्रस्तावको विरोध गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। यसअघि ट्रम्पले आफ्नो प्रस्तावको समर्थन नगर्ने आठ युरोपेली देशमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनीसमेत दिएका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आइतबार युरोपलाई दबाब वा ब्ल्याकमेल गर्न नसकिने स्पष्ट पारेकी थिइन्।

ट्रम्पले ग्रिनल्याण्ड अमेरिकाको नियन्त्रणमा नआए रूस वा चीनले त्यस क्षेत्रमा प्रभाव जमाउन सक्ने तर्क गर्दै आएका छन्। ग्रिनल्याण्ड डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त टापु हो र डेनमार्कसहित केही युरोपेली देशहरूले ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया