पूर्वराष्ट्रपति युन सुक योललाई अदालतद्वारा पाँच वर्ष कैद सजाय

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले गम्भीर आपराधिक अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतले शुक्रबार न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको तथा प्रमाण नष्ट गरेको आरोप प्रमाणित भएको जनाएको हो।

डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागू गर्ने असफल प्रयासपछि युन सुक योल पदबाट हटाइएका थिए। अदालतका अनुसार मार्शल ल घोषणाको क्रममा कानुनी प्रक्रिया पालना नगरेको, सरकारी कागजातमा अनियमितता गरेको, फोनसम्बन्धी डाटा मेटाएर प्रमाण नष्ट गरेको र आफ्नी गिरफ्तारी रोक्न सुरक्षाकर्मीहरूको काममा बाधा पुर्‍याएको अभियोग उनीमाथि पुष्टि भएको छ।

युन सुक योलले डिसेम्बर २०२४ मा अचानक मार्शल ल घोषणा गर्दा देशको राजनीतिक अवस्था तनावग्रस्त बनेको थियो। उनले उक्त कदमलाई विपक्षी र कथित राज्यविरोधी शक्तिबाट लोकतन्त्र जोगाउने प्रयासको रूपमा व्याख्या गरेका थिए। तर, सत्तारूढ दलकै केही सांसद र विपक्षी दलको समर्थनमा संसदबाट उक्त निर्णय खारेज भएपछि करिब छ घण्टामै मार्शल ल अन्त्य गरिएको थियो।

मार्शल ल असफल भएपछि युन सुक योल केही समय आफ्नै निवासमा सीमित रहेका थिए। पछि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएका थिए। दक्षिण कोरियाको इतिहासमा कार्यरत राष्ट्रपतिलाई पक्राउ गरिएको यो पहिलो घटना मानिन्छ।

तपाईको प्रतिक्रिया