स्वास्थ्य बीमा रकम नपाएपछि त्रिवि शिक्षण अस्पतालले सेवा रोक्ने निर्णय

काठमाडौँ : त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले माघ १ गतेदेखि स्वास्थ्य बिमाका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, स्वास्थ्य बीमा बोर्डले उपचार खर्च उपलब्ध नगराउँदा र अस्पतालको आन्तरिक खर्च ठूलो हुने भएपछि यस्तो निर्णय लिन बाध्य भएको हो।

सूचनामा उल्लेख छ, “अस्पतालमा आउने बिरामीको संख्या र उपचारको चाप बढ्दो क्रममा छ। तर बीमा बोर्डले रकम उपलब्ध नगराउँदा अस्पताललाई घाटा भैरहेको छ। विगत दुई वर्षदेखि अस्पतालले बारम्बार बिमा रकम अन्तिम रकम मानिदिन आग्रह गरे पनि सुनुवाई नभएको छ। मासिक करिब दुई करोड घाटा व्यहोर्दै गर्दा बिमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएका कारण सेवा बन्द गर्ने निर्णय गरिएको हो।”

अस्पतालले बोर्डसँग मासिक करिब पाँच करोड खर्च हुनेमा ५० प्रतिशत मात्र स्वीकृत भएको र बाँकी रकम अस्वीकृत हुने जनाएको छ। हालसम्म करिब ४० करोड रुपैयाँ बिमा दावी बाँकी रहेको अस्पतालले जनाएको छ।

टिचिङ अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया