सुनचाँदीको मूल्य नयाँ कीर्तिमानमा, नेपाली बजारमा ऐतिहासिक उच्च विन्दु

काठमाडौँ — नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। पछिल्ला तीन दिनदेखि दुवै धातुको मूल्य लगातार बढ्दै जाँदा सुनचाँदीको कारोबारले नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ।

आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार चार हजार एक सय रुपैयाँले बढेर दुई लाख ७४ हजार सात सय रुपैयाँ पुगेको थियो। आज पुनः मूल्य बढेसँगै सुनले नेपाली बजारमा हालसम्मकै उच्च मूल्य छोएको महासंघले जनाएको छ।

चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ। आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार पाँच हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप वृद्धि भई पाँच हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक अनिश्चितताले सुन तथा चाँदीको मूल्य वृद्धिमा प्रभाव पारेको हो।

तपाईको प्रतिक्रिया