अमेरिकाको भिजिट र बिजनेस भिसामा नयाँ व्यवस्था, नेपालीले धरौटी बुझाउनुपर्ने


काठमाडौं ।अब नेपाली नागरिकले अमेरिकाको भिजिट (बी–२) र बिजनेस (बी–१) भिसा प्राप्त गर्न धरौटी रकम बुझाउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त व्यवस्था आगामी माघ ७ गते (जनवरी २१) देखि लागू हुनेछ।

नयाँ नियमअनुसार यी भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म मात्र बस्न पाउनेछन्। भिसा अन्तर्वार्ताका क्रममा अमेरिकी दूतावासका अधिकारीले आवेदकबाट ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये कुनै एक रकम धरौटीका रूपमा बुझाउन निर्देशन दिन सक्नेछन्। उक्त रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को तोकिएको फाराममार्फत बुझाउनुपर्नेछ।

धरौटी रकम भिसा प्राप्त गर्ने व्यक्तिले स्वयं बुझाउनुपर्नेछ। तेस्रो पक्ष वा अन्य वेबसाइटमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ। भिसा अवधिभन्दा बढी समय अमेरिका बसेको पाइएमा धरौटी रकमबाट कटौती गरिनेछ।

यससँगै अमेरिकाले यस्ता भिसा लिएका नेपाली नागरिकका लागि प्रवेश र प्रस्थान गर्ने विमानस्थल पनि तोकेको छ। अब बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टन डुलिस अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न पाइनेछ। तोकिएका विमानस्थल बाहेक अन्य स्थानबाट यात्रा गरेमा नियन्त्रणमा लिन सकिने अमेरिकी पक्षले जनाएको छ।

अमेरिका प्रवेश गर्दा नै यात्रुहरूले फर्कने मिति अध्यागमन निकायमा दर्ता गराउनुपर्नेछ। निर्धारित समयभित्र अमेरिका छाडेपछि धरौटी रकम फिर्ता गरिनेछ। भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा, वा भिसाका लागि आवेदन दिएर विमानस्थलबाट फर्काइएको अवस्थामा समेत धरौटी रकम फिर्ता हुने व्यवस्था छ।

तर धरौटी बुझाउँदैमा भिसा स्वीकृत हुने ग्यारेन्टी भने नहुने स्पष्ट गरिएको छ। काउन्सिलर अफिसरको निर्देशनबिना बुझाइएको धरौटी रकम फिर्ता नहुने चेतावनी दिइएको छ।

त्यस्तै, भिजिट वा बिजनेस भिसामा अमेरिका पुगेपछि अन्य प्रकारको भिसाका लागि आवेदन दिएमा वा शरणार्थी (आसाइलम) मागेमा धरौटी रकम जफत हुने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया