भारतले सहयोग नगरे ट्यारिफ बढ्ने ट्रम्पको चेतावनी

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेलको विषयमा सहयोग नगरे भारतीय सामानमाथि लाग्दै आएको आयात शुल्क थप बढाउन सक्ने चेतावनी दिएका छन्। सोमबार एक सम्बोधनका क्रममा ट्रम्पले भारतको रुससँगको तेल कारोबारप्रति आफ्नो प्रशासन लामो समयदेखि असन्तुष्ट रहेको बताएका हुन्।

भारतले रुसबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको विषयलाई उल्लेख गर्दै ट्रम्पले यसअघि नै त्यसप्रति आपत्ति जनाउँदै आएको बताए। उनका अनुसार सन् २०२५ को अगस्टमा भारतमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णयको पृष्ठभूमिमा पनि यही विषय मुख्य कारण बनेको थियो।

आफ्नो अभिव्यक्तिमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उल्लेख गर्दै उनलाई व्यक्तिगत रूपमा राम्रो व्यक्ति भने पनि आफू भारतको कदमप्रति सन्तुष्ट नभएको कुरा भारतीय पक्षलाई थाहा रहेको बताए। ट्रम्पले यदि भारतले रुसी तेलको कारोबारलाई निरन्तरता दिएमा छिट्टै थप ट्यारिफ लगाउन सकिने संकेत दिएका छन्।

ह्वाइट हाउसले सार्वजनिक गरेको एक अडियो सन्दर्भमा ट्रम्पले भारतले सहयोग नगरे आयात शुल्क बढ्ने सम्भावना रहेको बताएका थिए। रोयटर्सले पनि ट्रम्पलाई उद्धृत गर्दै रुसी तेलको मुद्दामा सहकार्य नहुँदा भारतमाथि थप ट्यारिफ लगाइने चेतावनी दिएको उल्लेख गरेको छ।

यी टिप्पणीहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछिको अमेरिकी रणनीतिबारे जानकारी दिने एक ब्रिफिङका क्रममा आएका हुन्। सो अवसरमा दक्षिण अमेरिकी क्षेत्रमा देखिएको तनावमा पनि ऊर्जा कारोबारको भूमिका रहेको उल्लेख गरिएको थियो।

ट्रम्पको पछिल्लो चेतावनी भारत र अमेरिकाबीच जारी व्यापार वार्ताका बीच आएको हो। ट्रम्पले यसअघि प्रधानमन्त्री मोदीले रुसबाट तेल खरिद रोक्ने आश्वासन दिएको दाबी गरेका थिए। यद्यपि, भारतले यस्तो कुनै प्रतिबद्धता भएको अस्वीकार गर्दै आफ्नो ऊर्जा नीति अन्तर्राष्ट्रिय बजारको अवस्था र घरेलु आवश्यकतामा आधारित हुने स्पष्ट पार्दै आएको छ।

रुस भारतको प्रमुख तेल आपूर्तिकर्ता मुलुकमध्ये एक हो। ट्रम्प प्रशासनका अधिकारीहरूले यसअघि रुसी तेल व्यापारबाट प्राप्त आम्दानी युक्रेन युद्धमा प्रयोग भइरहेको आरोप लगाउँदै आएका छन्। भारतले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पका पछिल्ला अभिव्यक्तिले भारत–अमेरिका कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउन सक्ने सम्भावना देखिएको छ।

सन् २०२५ को अगस्टमा अमेरिकाले भारतीय वस्तुहरूमा ५० प्रतिशतसम्म ट्यारिफ लगाएपछि भारतको निर्यात क्षेत्रमा उल्लेखनीय असर परेको बताइएको छ। अमेरिकातर्फ हुने करिब ४८ देखि ५० अर्ब अमेरिकी डलर बराबरको निर्यात प्रभावित भएको, जुन कुल निर्यातको झन्डै २० प्रतिशत हिस्सा हो।

विशेषगरी कपडा, छाला, आभूषण, समुद्री खाद्य वस्तु तथा अटोमोबाइल पार्ट्स उद्योगमा बढी प्रभाव परेको छ। यसका कारण भारतको आर्थिक वृद्धिदरमा ०.३ देखि १ प्रतिशतसम्म कमी आएको र निर्यातमा २० प्रतिशतभन्दा बढी गिरावट देखिएको प्रारम्भिक मूल्यांकनहरूमा उल्लेख गरिएको छ। साथै साना तथा घरेलु उद्योगमा रोजगारीको जोखिमसमेत बढेको बताइएको छ।

तपाईको प्रतिक्रिया