शीतलहरको चपेटामा सुनसरी–मोरङ, चिसो र हुस्सुले जनजीवन प्रभावित

सुनसरी । सुनसरी र मोरङ जिल्लामा शीतलहर सुरु भएसँगै जनजीवन प्रभावित भएको छ। शनिबार साँझदेखि चिसो हावा र बाक्लो हुस्सु फैलिँदा दैनिक गतिविधि कष्टकर बनेको हो।

शीतलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले हुस्सुका कारण दृश्यता कम हुने भएकाले सवारीसाधनको बत्ती बालेर सावधानीपूर्वक चलाउन अनुरोध गरेका छन्।

चिसो मौसमका कारण सुनसरीका इटहरी, तरहरा, इनरुवा, दुहबी, झुम्का र खनारलगायतका स्थानमा जनजीवन प्रभावित भएको छ। यस्तै, मोरङको विराटनगरमा पनि शीतलहर र बाक्लो हुस्सुले जनजीवनमा असर पुगेको छ। विराटनगर विमानस्थल वरिपरि हुस्सु बाक्लिँदा आइतबारका केही उडानसमेत प्रभावित भएका छन्।

मोरङका रतुवामाई, सुन्दरहरैंचा, बुढीगंगा र रंगेलीजस्ता क्षेत्र शीतलहरको उच्च जोखिममा परेका छन्। चिसो बढ्दै गएपछि रतुवामाई नगरपालिका–७ स्थित विपन्न बस्तीमा दाउरा वितरण गरिएको छ। वडा कार्यालयको पहलमा पथरी शनिश्चरे साझेदारी वन समूहको सहयोगमा विभिन्न टोल, चोक र बजार क्षेत्रमा दाउरा उपलब्ध गराइएको हो।

जाडोबाट बचाउन विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी दाउरा वितरण गरिएको वडा अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार वडाभित्र १५ वटा सार्वजनिक स्थानमा सामूहिक रूपमा आगो ताप्न सकिने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया