जाँचबुझ आयोगले देउवा र दाहाललाई सोधपुछका लागि पत्र पठायो

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको अध्ययनका लागि गठन गरिएको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पत्र पठाएको छ।

आयोगका एक सदस्यका अनुसार ती दुई दिन भएका घटनाबारे जानकारी लिन आयोगले पत्राचार गरेको हो र सम्बन्धित नेताहरूले पत्र प्राप्त गरिसकेका छन्। आयोगले बयानका लागि उपस्थित हुन अनुरोध गरेको छ भने उपस्थित हुन नसक्ने अवस्थामा लिखित जवाफ पठाउनसमेत आग्रह गरेको छ। यस प्रयोजनका लागि आवश्यक प्रश्नावली पनि पत्रसँगै पठाइएको जनाइएको छ।

यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिन पत्र पठाउने तयारी गरिरहेको छ। यस विषयमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेको स्रोतले जनाएको छ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान लिइसकेको थियो भने बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटघाट गरी छलफल गरेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया