काठमाडौंमा ठगीको घटना: नक्कली सुन देखाएर रकम असुली

काठमाडौं —सुनजस्तो देखिने वस्तु देखाएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी नगरपालिका–५, थली क्षेत्रमा सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने भन्दै दुई जनाबाट रकम असुली गरिएको थियो। सुनजस्तै देखिने वस्तु देखाएर विश्वास दिलाई उनीहरूले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ र नवलपरासीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्।

उक्त समूहले पुस ८ गते सुन सस्तोमा दिने बहानामा पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको जनाइएको छ। ठगी भएको भन्ने उजुरीपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया