मधेशमा मन्त्रिपरिषद् विस्तार हुदै, गठबन्धन दलको भागबण्डा पूरा हुने

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। जनमत पार्टीबाहेक सातदलीय गठबन्धनका दलहरूबाट मन्त्रालयसहित एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको जनाइएको छ।

सातदलीय गठबन्धनको आज बसेको बैठकले तत्काल गठबन्धनमा सहभागी दलहरूबाट प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने निर्णयसमेत गरिएको छ।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते छ दलको समर्थनमा नियुक्त भएका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। नियुक्तिपछि मंसिर २१ गते उनले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ लिएका थिए। त्यसलगत्तै तीन दलबाट तीन जना मन्त्री नियुक्त गरिएका थिए।

जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए भने नेपाली कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) बाट कनिश पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरिएको थियो। सातदलीय गठबन्धनभित्र मन्त्रालयको भागबण्डा नमिल्दा हालसम्म दुई मन्त्री बिना विभागीय रहँदै आएका छन्।

आज हुने मन्त्रिपरिषद् विस्तारमा ती दुवै बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइने र अन्य गठबन्धन दलहरूलाई समेत समेट्ने गरी मन्त्रिपरिषद् पूर्णता दिने तयारी मुख्यमन्त्री यादवले गरेका छन्।

तपाईको प्रतिक्रिया