पारिवारिक झगडामा असईले छोराको ज्यान लिए

काठमाडौं: एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरामा भएको झगडाका क्रममा चार महिनाका माहिर कार्कीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

डोटी घर भएका २९ वर्षीय असई पुष्कर कार्कीले छोरा माहिर कार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ। झगडा हुँदा कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ।

‘छोराको उपचारबारे कुरा गर्दै गर्दा झगडा भएको रहेछ। त्यही क्रममा श्रीमतीलाई कुटपिट गर्दा–गर्दै उनले छोरामाथि धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्,’ एसपी भट्टराईले भने।

श्रीमान–श्रीमती दुवै प्रहरी छन्। विष्णा प्रहरी जवान हुन्। दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए।

घटनापछि पुष्कर कार्की फरार भएका थिए। उनलाई प्रहरीले साँझ ६ बजे नागढुंगा चेकपोस्टबाट पक्राउ गरेको हो। कुटपिटमा परेकी विष्णा साउदको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया