मदन भण्डारी राजमार्गमा दुःखद दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२ गागन क्षेत्रमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुँगा तर्फ गइरहेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमारको उपचारका क्रममा दुधौली–४ स्थित सिर्थौली अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

यस दुर्घटनामा मोटरसाइकलमा सवार कमलामाई नगरपालिका–१४ का २६ वर्षीय दिपेश कुमार गम्भीर घाइते भएका छन्। उनको सिर्थौली अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि बस चालक कटारी नगरपालिका–३, उदयपुरका ३२ वर्षीय स्याम कुमार भट्टराई फरार रहेको र उनकाे खोजी तथा घटना अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ। बसका सबै यात्रु भने सुरक्षित रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया