प्रधानमन्त्रीद्वारा सुरक्षा निकायलाई कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजक गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिएको जानकारी गराउनुभएको हो।

प्रधानमन्त्री कार्कीले युवाहरूले उठाइरहेको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकार गम्भीरतापूर्वक सुन्दै आएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारको प्रतिबद्धता भएको बताउनुभयो। सिमरा विमानस्थल गेट नजिक हिजो एमाले कार्यकर्ता र जेनजी समूहका प्रदर्शनकारीबीच झडप भएपछि कर्फ्यू लगाउनुपरेको थियो।

एमालेले बाराको परवानीपुरमा आयोजना हुन लागेको आफ्नो कार्यक्रममा जेनजी युवाहरूबाट अवरोध गरिएको आरोप गरेको छ। यता, जेनजी पक्षका प्रतिनिधिहरूले आफूमाथि एमाले कार्यकर्ताबाट कुटपिट र दुर्व्यवहार भएको दाबी गर्दै आएका छन्।

घटनापछि प्रधानमन्त्री कार्कीले गृह प्रशासन तथा सुरक्षा निकायलाई शान्ति–सुरक्षा कायम राख्न, सबै राजनीतिक नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, र निर्वाचनको वातावरण निष्पक्ष तथा भयमुक्त बनाउन उच्च सतर्कता र तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ।

तपाईको प्रतिक्रिया