हरि खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल ढाकास्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।

यो खेल एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि तयारीका रूपमा हुने हो। नेपाल र बंगलादेशबीच दुई महिनाभित्र हुने यो दोस्रो भेट हो। पहिलो मैत्रीपूर्ण खेल गत भदौको अन्तिम सातामा दशरथ रंगशालामा गोलरहित बराबरीमा सम्पन्न भएको थियो। तर जेन–जी आन्दोलनका कारण दोस्रो खेल स्थगित भएको थियो।

नेपाली टिम अहिले हरि खड्काको प्रशिक्षणमा छ। उनी पहिलो पटक पुरुष सिनियर टिमको जिम्मेवारी सम्हालेका हुन्। एसियन कप छनोटमा दुई साताअघि भियतनामसँग खेल्दा सहभागी टिममा दुई परिवर्तन गरिएको छ। भियतनामसँगको खेलपछि विदेशी प्रशिक्षक म्याट रसले राजीनामा दिएका थिए र त्यसपछि एन्फाले हरि खड्कालाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो।

खेलाडीहरू सहिद स्मारक ए डिभिजन लिग तत्काल सुरु गर्नुपर्ने माग गर्दै विरोधमा छन्। कठिन परिस्थितिबाट गुज्रिरहेको नेपाली फुटबलका लागि आजको खेल सकारात्मक नतिजा ल्याउनु अत्यावश्यक छ। मैत्रीपूर्ण खेलपछि नेपाली टिम मलेसिया जानेछ।

तपाईको प्रतिक्रिया