मन्त्रीपरिषद् निर्णय : राष्ट्रिय खेलकुद कर्णालीमा, विभिन्न स्वास्थ्य निकायहरूमा स्वास्थ्य क्षेत्रमा अस्थायी दरबन्दी स्वीकृत

फाइल तस्वीर

काठमाडौँ। सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त स्वीकृति प्रदान गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सो बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न स्वास्थ्य निकायहरूमा २५६ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

उनका अनुसार कान्ति बाल अस्पताल (काठमाडौँ), स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल (धनगढी), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) र डडेलधुरा अस्पतालका लागि आर्थिक वर्ष २०८२/८३ मा अधिकृत सरहका अस्थायी दरबन्दीहरू स्वीकृत गरिने छन्।

मन्त्रीपरिषद्ले एमसिए–नेपाल अन्तर्गत निर्माण हुने ४०० केभी विद्युत् प्रसारण लाइनको मध्यरेखाबाट दायाँ–बायाँ २३/२३ मिटर क्षेत्रफलभित्र कुनै पनि संरचना निर्माण वा रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ। साथै, राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली (दोस्रो संशोधन) २०८२ लाई स्वीकृति दिइएको छ।

त्यसैगरी, सरकारले स्याङ्जा जिल्ला प्रशासन कार्यालय रहेको जग्गाको क्षतिपूर्तिबापत जग्गाधनी श्यामप्रसाद श्रेष्ठलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने, साथै रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ।

यस्तै, नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय पनि उक्त बैठकले गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया