सेयर बजार: परिसूचक घट्यो, कारोबार रकम ६ अर्बमै सीमित

काठमाडौँ — सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा पुगेको हो।

सो दिन बजारमा कारोबार रकम पनि घटेको देखिएको छ। आइतबार नौ अर्ब २० करोड रुपैयाँ रहेको कारोबार सोमबार ६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ।

कारोबारमा आएका समूहमध्ये जीवन बीमा र जलविद्युत समूह सबैभन्दा धेरै घटेका छन्। यी दुई समूहमा एक प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।

त्यस्तै, विकास बैंक, होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापारमूलक समूहगत परिसूचकमा भने थोरै सुधार देखिएको छ।

सो दिन ३३३ वटा लगानी उपकरण बजारमा आएका थिए। तीमध्ये १२१ वटाको मूल्य बढेको छ भने १९० वटाको मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर रहेको छ।

दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ। मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै बढेको हो। क्रमशः ती कम्पनीको सेयर मूल्य १६१६ रुपैयाँ र ६६७ रुपैयाँमा कारोबार भएको छ।

इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको प्रतिकित्ता सेयर ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सबैभन्दा धेरै रकमको कारोबार शिवम सिमेन्टको सेयरमा भएको छ। सो कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया