२६ सय विन्दुमा आयो नेप्से, जलविद्युतमा बढ्यो आकर्षण!

काठमाडौं : बिहीबार सेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा आएर बन्द भएको छ। नेप्से ३४.२२ अंकले बढेर बजार बन्द भएको हो।

बिहीबार कारोबार रकम पनि बढेको छ। बुधबार पाँच अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको हो।

यसदिन तीन सय १९ लगानी उपकरण कारोबारमा आउँदा दुई सय ४८ वटाको मूल्य बढेको छ। ५९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।

कारोबारमा आएकामध्ये सामूहिक लगानी कोषबोहक सबै समूह बढेका छन्।

जलविद्युत समूहमा सबैभन्दा धेरै सुधार देखिएको छ। यो समूह २.६७ प्रतिशतले बढेर ३३७० विन्दुमा आएको छ।

यसदिन गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।

गुराँस लघुवित्तको प्रतिकित्ता सेयर दुई हजार तीन सय १० रूपैयाँ र उन्नती सहकार्यको दुई हजार दुई रूपैयाँमा कारोबार भएको हो।

हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको एक अर्ब ६६ करोड रूपैयाँको संस्थापक सेयर किनबेच भएको हो।

पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर कारोबार गरेर अभिलेखिकरण गरिएको हो। यो सेयर नेशनल लाइफ इन्सुरेन्सले खरिद गरेको हो।

बजारमा हिमालन बैंकको संस्थापक सेयर एक सय ३१ रूपैयाँको दरमा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया