माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको निधन

झापा — झापाको गौरादह नगरपालिका–९, खजुरबारीमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा अञ्जु मगरकी ९ वर्षीया छोरी स्वीकृति मगर, ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तीनै बालिका एकै गाउँकी हुन् र उनीहरू कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका बेला डुबेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

स्थानीय युनिसा राईले बालिकाहरू डुबेको देखेपछि तत्काल परिवारजनलाई जानकारी दिएकी थिइन्। खबर प्राप्त गरेलगत्तै अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार शवहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो।

एकै गाउँका तीन बालिकाको निधनले सम्पूर्ण गाउँ शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया