सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

काठमाडौँ, — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मान गरिएको छ। हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको विशेष समारोहमा मन्त्री खरेललाई दोसल्ला, ताम्रपत्र र नगदसहित सम्मान प्रदान गरिएको हो।

समारोहमा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले सम्मान हस्तान्तरण गर्नुभएको थियो। सञ्चारमन्त्री खरेललाई टेलिभिजन पत्रकारितामार्फत मुलुक र जनताको आवाज उजागर गर्दै जनहितमा निरन्तर काम गरेबापत यो सम्मान प्रदान गरिएको हो।

करिब २५ वर्षदेखि सञ्चारकर्ममा सक्रिय रहँदै आउनुभएका खरेलले नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ उचाइ स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याउनुभएको आयोजक संस्थाको भनाइ छ।

राजनीतिक, सामाजिक, आर्थिक लगायत समसामयिक ज्वलन्त विषयवस्तुमा जनताका सवालहरू उठाउने कार्यमा उहाँको सक्रियता उल्लेखनीय रहेको बताइएको छ।

कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा र गायक धिरज राईलाई ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य सङ्गीत सम्मान’ प्रदान गरिएको थियो। स्व. हरिप्रसाद रिमाल र उनकी धर्मपत्नी कल्याणी रिमालको नाममा स्थापित यस पुरस्कारमार्फत नाट्य, सङ्गीत तथा सञ्चार क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गरिँदै आएको छ।

सो अवसरमा मन्त्री खरेलले यो सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको बताउँदै भने, “म यहाँ मन्त्रीको हैसियतमा होइन, सञ्चारकर्मीको नाताले आएको हुँ। असोज ५ गतेसम्म म क्रियाशील सञ्चारकर्मी थिएँ, अहिले भूमिका फेरिएको छ। तर यो सम्मानले मलाई इमानदारीपूर्वक काम गर्न अझ बढी प्रेरणा दिएको छ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले आगामी पाँच महिनाभित्र जनताको अपेक्षा अनुसार ‘जेनजी आन्दोलन’का म्यान्डेटहरू कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको नागरिक सरकारको म्यान्डेटलाई सफलतापूर्वक कार्यान्वयन गर्न हामी अहोरात्र खटिनेछौँ,” उहाँले भन्नुभयो।

मन्त्री खरेलले देशको समृद्धि, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि साहित्य तथा कला क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको योगदान अविस्मरणीय रहेको पनि उल्लेख गर्नुभयो।

उहाँले अन्त्यमा भन्नुभयो, “२५ वर्ष सञ्चारकर्ममा बिताएर अहिले नयाँ जिम्मेवारीमा छु। पाँच महिनाको अवधिमा कति गर्न सकिएला भन्ने थाहा छैन, तर यति भन्न चाहन्छु— जानेर, बुझेर, नियतबस् गलत केही गर्नेछैन, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने छु।”

तपाईको प्रतिक्रिया