मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत

काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्। पार्टीको समर्थन गुमाउँदै अल्पमतमा परेका मुख्यमन्त्री सिंहले मंगलबार प्रदेशसभा बैठकमा राजीनाको घोषणा गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सिंहको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो। प्रदेश प्रमुख समक्ष पेस भएको राजीनामा नेपालको संविधानको धारा १६९ को उपधारा (३) अनुसार स्वीकृत गरिएको निमित्त प्रदेश सचिव शत्रुधन यादवले जानकारी दिए।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,
“नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ।”

मुख्यमन्त्री सिंह नेतृत्वको सरकार आफ्नै पार्टीको समर्थन फिर्ता पछि अल्पमतमा परेको थियो। त्यसपछि उनले मंगलबारको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए। अब नयाँ सरकार गठनका लागि प्रदेशमा राजनीतिक समिकरणको तयारी सुरु हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया