ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध १ अर्ब ५८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा !

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको बिगो माग्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

बागलुङ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा मेयर नेपालीमाथि बिगोको दोब्बर जरिवाना, २ देखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर, नगद तथा जग्गा जफत गर्न माग गरिएको छ।

उनमाथि ‘इमेज बचत तथा ऋण सहकारी संस्था’को बचत डुबाएको ठगी आरोप छ। उनी २०८० सालदेखि फरार थिए र भारतको नयाँदिल्लीबाट पक्राउ परेका थिए।

मुद्दामा नेपालीकी पत्नी छेला नेपालीविरुद्ध पनि ६ करोड ९८ लाख रुपैयाँ बराबरको बिगोसहित कैद र जरिवाना माग गरिएको छ।

यससँगै सहकारीका अन्य पदाधिकारीहरूलाई समेत सहजीकरण गरेको आरोप लागेका कारण समान रूपमा सजाय माग गरिएको छ।

तपाईको प्रतिक्रिया