मेयर बालेन र ‘हामी नेपाल’ संस्थापक सुदनविरुद्ध नेविसंघको जाहेरी

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगर प्रमुख बालेन शाह र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।

भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई पोशाकमै सडकमा उतारेर मानव ढाल बनाइएको, साथै राष्ट्रिय सम्पदा, सरकारी र निजी सम्पत्तिमा क्षति पुर्‍याइएको आरोप लगाउँदै नेविसंघले उनीहरूविरुद्ध नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै जाहेरी दर्ता गराएको हो।

नेविसंघका नेताहरू मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाह आइतबार जिल्ला प्रहरी परिसर, ललितपुर पुगेर उक्त जाहेरी बुझाएका थिए। तर प्रहरी कार्यालयले हालसम्म जाहेरी दर्ता गरेको छैन।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो। तर सो जाहेरी प्रहरीमै फिर्ता गरिएको थियो।

नेविसंघले भने कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको जनाएको छ। यस विषयमा दुवै पक्षबाट अहिलेसम्म प्रतिकृया सार्वजनिक भइसकेको छैन।

तपाईको प्रतिक्रिया