बिर्तामोडमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

झापा — झापाको बिर्तामोड नगरपालिका–८ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार, बिहीबार राति किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

तास खेलिरहेका बेला पक्राउ परेकामध्ये घरधनी उप्रेतीसमेत छन्, तर हालसम्म पक्राउ परेका सबैको नाम सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनास्थलबाट तासका गड्डी, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया