कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइने

काठमाडौँ, – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणको यो अभियान सोही मितिमा सञ्चालन गरिनेछ।

यसअघि सरकारले यो कार्यक्रम कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते गरी दुई चरणमा सञ्चालन गर्दै आएको थियो। तर, यस वर्ष कात्तिक २ गते लक्ष्मी पूजाको दिन परेकाले सचिवस्तरीय बैठकले कार्यक्रम केही पर सार्ने निर्णय गरेको हो। दोस्रो चरणको कार्यक्रम भने पूर्वनिर्धारित समयमै हुने जनाइएको छ।

कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष मुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाखलाई जुकाको औषधी खुवाउने लक्ष्य लिएको छ।

साथै, सोही समयमा छ महिनाभन्दा बढी उमेरका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार पनि प्रदान गरिनेछ। अभिभावकलाई नजिकको खोप केन्द्रमा पुगेर आफ्ना बालबालिकालाई औषधी खुवाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया