जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको राजीनामा

जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा दिन दबाव दिएको छ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा अलायन्सले राईको स्वेच्छिक राजीनामाको माग गरेको छ। विज्ञप्तिमा उल्लेख छ कि यदि राईले राजीनामा दिएनन् भने, मंगलबार बिहान १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गरिनेछ र आवश्यक परे अन्य कार्यक्रमहरू पनि गर्ने तयारी गरिएको छ।

जेनजी मुभमेन्टले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी राईलाई नियुक्त गरेको र उनी विभिन्न मुद्दामा मुछिएको आरोप लगाउँदै आएको छ। राईमाथि नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, र वाइडबडी खरिद प्रकरणसमेतमा संलग्न भएको आरोप छ।

विज्ञप्तिमा भनिएको छ कि आयोगका पदाधिकारीलाई पदबाट हटाउन महाअभियोग लगाउनुपर्ने हुन्छ, जुन संसदको कार्यकाल नभएको अवस्थामा सम्भव छैन। त्यसकारण प्रमुख आयुक्त प्रेम राई र अन्य आयुक्तहरूको राजीनामा अति आवश्यक रहेको अलायन्सको धारणा छ।

“प्रमुख आयुक्त लगायत अन्य आयुक्तलाई पदबाट हटाउन महाअभियोग लगाउनुपर्ने हुन्छ, तर संसद नभएकाले आयोगको सबै पद रिक्त गराउन प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य आयुक्तहरूको राजीनामा आवश्यक छ। यसले मात्र भ्रष्टाचारविरुद्ध निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्ति गरेर आवश्यक कारबाहीलाई तीव्रता दिन सकिन्छ,” विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया