‘ब्लक एभरिथिङ’ अभियानले फ्रान्सको जनजीवन प्रभावित


पेरिस, फ्रान्सभरि प्रमुख ट्रेड युनियनहरूले सामाजिक कल्याणमा कटौती र मितव्ययी नीतिको विरोधमा व्यापक हड्ताल र प्रदर्शन थालेका छन्। नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रस्ताव गरेको बजेट योजनाले जनजीवन प्रभावित पार्ने देखिएको छ।

युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले तयार पारेको बजेट मस्यौदा फिर्ता लिन माग गर्दै सामाजिक सुरक्षामा कटौती अस्वीकार्य भएको चेतावनी दिएका छन्। उनीहरूले मितव्ययिता योजना ‘अभूतपूर्व क्रूरता’ भएको भन्दै कामदार, अस्थायी रोजगार, सेवानिवृत्त नागरिक र बिरामी वर्गलाई प्रत्यक्ष मार पर्ने बताएका छन्।

प्रधानमन्त्री लेकोर्नु देशको बजेट घाटा र ऋण नियन्त्रण गर्न दलहरूसँग संवादमा जुटिरहेका बेला यो हड्ताल सुरु भएको हो। युनियनहरू राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधार योजनाको पनि विरोधमा छन्, जसअनुसार सेवानिवृत्त हुने न्यूनतम उमेर ६२ बाट ६४ वर्षमा पुर्‍याइएको छ।

पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबारको प्रदर्शनमा “धेरै बलियो सुरक्षा परिचालन” हुने बताएका छन्। उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ गरिनेछ। उनले सम्भावित हिंसात्मक गतिविधि, तोडफोड र अति वामपन्थी समूहको संलग्नताबारे पनि चेतावनी दिएका छन्।

सार्वजनिक यातायात, अस्पताल, विद्यालयलगायत सेवाहरूमा व्यापक असर पर्ने अनुमान गरिएको छ। फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफ का अनुसार युरोप जाने उच्च गतिको केही रेलहरूमा अवरोध हुने भए पनि अधिकांश रेल सञ्चालनमा रहनेछन्।
तर क्षेत्रीय रेल सेवा, पेरिस मेट्रो र स्थानीय यातायात भने धेरै प्रभावित हुनेछन्। हवाई यातायातमा भने नियन्त्रक युनियनले अस्थायी रूपमा हड्ताल स्थगित गरेपछि सीमित मात्र अवरोध हुने अपेक्षा गरिएको छ।

गत हप्ताको प्रदर्शनमा धुवाँ, आगो, सडक अवरोध, र अश्रुग्यास प्रयोगले स्थिति तनावग्रस्त बनेको थियो। “ब्लक एभरिथिङ” भन्ने नारासहितको आन्दोलनले जनजीवनको धेरै पक्ष प्रभावित गरेको सरकारी अधिकारीहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया